Posted by: truelines | September 23, 2009

हाम्रो नाङ्गो फोटो

हामी च्यातिएको लुगा लगाएरै खुशी थियौं

कोदो फापर र मकै खाएरै खुशी थियौं

एकदिन,

एनजिओ र डोनर साहेब आउनुभयो

हाम्रो फोटो खिच्नुभयो र बेच्नुभयो हाम्रो गरिबी डोनर बजारमा

डोनरबजारमा हाम्रो गरिबी विक्यो

एनजिओ र डोनर साहेब प्रोजेक्ट लिएर आउनुभयो

उहाँहरुले हाम्रो च्यातिएको लुगा खोस्नुभयो

नयाँ कट्टु र गन्जि दिनुभयो

हामी खुशी भयौं

उहाँहरुले, हाम्रो फापर कोदो र मकै खोस्नुभयो

र विकासे चामल दिनुभयो

हामी खुशी भयौं

हाम्रो खुशीको फोटोले उहाँहरुको रिर्पाेट रङ्गिए

फेरी एकदिन,

एनजिओ र डोनर साहेब आउनुभयो

र प्रोजेक्ट फिर्ता लिएर जानुभयो

प्रोजेक्ट संगै फिर्ता भयो उहाँहरुले दिएको कट्टु र गन्जि

र हामी सर्वाङ्ग नाङ्गो भयौं

हिजो हामीसंग च्यातिएकै भएनि कपडा थियो

आज त्यो पनि छैन

हामी कोदो मकै र फापर खाएरै पनि बाँचेका थियौं

आज त्यसकॊ खेती पनि छैन

आजभोली,

एनजिओ र डोनर साहेब फेरी पनि

हाम्रो नाङ्गो फोटो खिच्दैहुनुहुन्छ

डोनर बजारमा कतै हाम्रो नाङ्गो फोटो विकिहाल्छ कि ?

कतै नयाँ प्रोजेक्ट र नयाँ कट्टु पाईपो हालिन्छ कि ?


Responses

  1. The poem is good….but too critical…..why do we forget that there is always two faces of a coin…


Leave a response

Your response:

Categories