Posted by: truelines | October 1, 2009

सम्पादकज्यु र मेरो कविता

मैले सम्पादकज्युलाई चिनेकै थिइँन,

सम्पादकज्युको श्रीमती,

सम्पादकज्युको पि्रयसी,

आमा छोरा छोरी,

भाई बहिनी,

फुपु मामा,

काका काकी,

विज्ञापन दाता निकटतम सुभेच्छुक,

कसैलाई चिनेकै थिईंन,

यसैले उनको रङ्गिन पत्रिकामा मेरो कविता छापिएन ।

मैले सम्पादकज्युलाई मन पर्ने मदिरा,

मन पर्ने दोहोरी साँझ,

मन पर्ने कलाकार,

मन पर्ने नेता चिनेकै थिईँन ,

यसैले उनको रङ्गिन पत्रिकामा मेरो कविता छापिएन

उनको ढोकामा चिप्लिकीरा झैं चिप्लिन रहर

टेबलमा जमेको फोहोर – बढार्ने जाँगर

र उनको कमिजमा अड्किएको लामो कपालमा शंका गर्ने हिम्मत

ममा थिएन

यसैले सम्पादकज्यु र मेरो चिनजान भएन

न मैले सम्पादकज्युको मसीको रङ्ग चिनेको थिएँ

न मेरो बबुरो कविताले नै सम्पादक ज्युलाई चिनेको थियो

यसैले उनको रङ्गिन पत्रिकामा मेरो कविता छापिएन

२०६६ ६ १०


Leave a response

Your response:

Categories