Posted by: truelines | August 20, 2010

को हुन् युवा ?

The same article was published on Nagarik Daily -08 – 05, 2010 with the title – आमा छोरा एउटै उमेर समुहमा

”एक घण्टामा करिब ३३ युवा वैदेशिक रोजगारको लागी काठमाडौंको अन्र्तराष्ट्रिय विमानस्थलबाट उड्ने गर्दछन् त्यो संख्या महिनामा करिब चौबिस हजार हुन जान्छ तर खुला सिमाना हुदैं भारतमा रोजगारमा जानेको संख्या अझै भन्दा बढि हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । नेपालमा प्रत्येक वर्ष करिब चार लाख युवा श्रम बजारमा अवसरमा प्रवेश गर्ने गर्दछन् तर त्यसको आधा भन्दा बढि संख्या बेरोजगार नै रहन्छ यसरी देश बाहिर जाने र देशमै बेरोजगार हुनेमा सबैभन्दा बढि १७ – ३० उमेर समहुका छन् ।” युवा रोजगारीको यस्तो डर लाग्दो तस्विर सार्वजनिक भइरहँदा नेपालको नीति निर्माता र राजनीतिक समुदाय भावी प्रधानमन्त्रि को हुने भन्ने बहसमा व्यस्त थिए । त्यसकारण यस्तो डर लाग्दो तस्विर सार्वजनिक हुदाँ उनिहरुले यसबारेमा प्रतिकृया दिने जाँगर सम्म पनि देखाउन सकेनन् । यसैले पुष्टि गर्दछ नेपालका राजनेताहरु नेपाली युवा र तिनको भविष्यको बारेमा कत्तिको चिन्तित छन् भन्ने कुराको । र यो देशको विडम्बना दाँत फुक्लेका र दाह्री फुलेका नेताहरुलाई युवा नेताका रुपमा लिईन्छ हिसाबै गर्ने हो भने हामी जस्ता पच्चिस वर्षिय युवाले तिनलाई हजुर बा भन्दा हुन्छ ।


नेपालमा द्धन्द्ध समाधानमा किन अप्ठेरो भईरहेको छ किन भने युवा बेरोजगारहरुको संख्या व्याप्त छ किन एच।आई।भी र एड्स लागु औषध दुव्यस्रनमा किन काम गर्नु पर्दछ किन भने यो समस्या सबैभन्दा बढि युवामा नै देखिएको छ । अबको लगानी युवामा नै बढि गर्नुपर्दछ भन्ने कुरामा धेरैको एउटै मत त छ युवाको बारेमा गरिएका गफहरु पनि धेरै सुनिन्छन् तर वास्तवमा युवाका लागी प्रभावकारी कार्यक्रमहरु आउन सकेका छैनन् आए पनि ति प्रभावकारी हुन सकेका छैनन् ।

अब यसको कारणको जरो खोतल्दै जाने हो भने अब धेरैले त्यत्ति चासो नदिएको तर एउटा महत्वपुर्ण बहसमा छिर्नु पर्ने हुन्छ र एउटा प्रश्नको वैज्ञानिक र व्यवहारिक जवाफ खोज्नुपर्ने हुन्छ – को हुन् युवा युवाका बारेमा चर्चा गरेर न यो देशको नेताहरु थाक्छन् न यो देशका नीति निर्माता थाक्छन् तर युवा भनेको न भावनाका आधारमा परिभाषा गर्ने विषय हो न विचारका आधारमा परिभाषित गर्ने विषय हो यो एउटा प्राविधिक विषय हो तर यसको प्राविधिक पक्षमा आवश्यक मात्रामा ध्यान पुगेको देखिदैंन । त्यसैले युवा भनेका यो देशका भविष्य हुन् जस्ता अति सस्ता कुरा गरेर न युवाको कुनै उत्थान हुन्छ न यो देशकोनै ।

कसैलाई लाग्न सक्छ युवाको परिभाषा किन गर्ने युवा उमेरको परिभाषाले भनेको युवा लक्षित कार्यक्रमहरु बनाउनको लागी युवा को हुन् र युवाका समस्या के हुन् भन्ने आधार बनाउँछ । यदि युवा को हुन् र तिनका सवाल के हुन् भन्ने विषयमै अलमल रह्यो भने युवाका लागी बनाईएका कार्यक्रमहरु असफल हुनु भन्दा अर्काे विकल्प छैन ।
कसैको मनमा यो पनि खेल्दो हो कि युवामा लगानी किन गर्ने युवा समुह भनेको मनोसामाजिक सास्कृंतिक र आर्थिक भुमिका र जिम्मेवारीको हिसाबले किशोर पन पछाडी र बयस्क हुनु अगाडीको उमेर हो । यो विशेष उमेरमा यदि उनिहरुलाई सहि ढङ्गले मार्गनिर्देश गर्न सकिएन भने उनिहरुको जिवन त अन्यौलमा बित्छ नै देशको भविष्य पनि अन्यौल बन्दछ ।

नेपाल सरकारले लामो समयको बहश पछि राष्ट्रिय युवा नीतिको घोषणा गरेको छ । जसमा युवा भनेको १६ देखी ४० वर्ष सम्मका लाई भनिएको छ जुन न त वैज्ञानिक र व्यवहारिक छ । अझ हाँसो उठ्दो के छ भने यो नीतिले आमा-छोरालाई एउटा उमेर समहु भित्र राखेको छ । के आमा र छोराको प्राथमिकता समस्या सवाल एउटै हुन्छ ?

युवा नीति घोषणा भए पछि युवाका बारेमा ठुला ठुला कुरा गर्नेहरुले न यसको स्वागत नै गरे न त यसको आलोचना नै । अब सोही युवा नीतिमा उल्लेख भए अनुसार युवा परिषद् गठन हुदैंछ जसका लागी केही युवाहरु राजनीतिक दल र उच्च सरकारी कर्मचारी कहाँ धाउन थालिसकेका छन् । वि।शं २०५२ साल देखी नै युवा नीतिको लागी पहल शुरु भएको हो । वि।शं २०५२ मा मस्यौदा भएको युवा नीतिमा युवाको उमेर १६ देखी २९ हुने उल्लेख गरिएको छ । त्यसपछि २०६२ पछि बनेका युवा नीतिका मस्यौदामा १५ -३५ हुदैं घोषणा हुने बेलामा १६ -४० सम्म पुग्यो । युवा नीति मस्यौदा कमिटिमा रहेका अधिकांश्ा सदस्यहरु तिसको उमेर पार गरिसकेको हुनाले न त तिनले १९ वर्षको युवाको भावनाको प्रतिनिधित्व गर्न सके न तिनले २२ २५ वर्षका युवाको विचारको बुझन् सके । युवा नीतिले नै युवाको उमेर १६ -४० हुने कुरा गरेपछि अब राज्यले गर्ने हरेक कृयाकलापहरुमा युवाका नाममा ३० वर्ष उमेर काटेका बयस्कहरु शहभागी हुनेछन् जसले युवाको समग्र विकासमा कुनै योगदान गर्दैन ।
आजसम्म जति कार्यक्रमहरुमा युवाका लागी ल्याइएको थियो ति कार्यक्रमहरु वास्तविक युवाको पहुँच सम्म पुग्न सकेन त्यसैले युवाका समस्याहरु मुद्धाहरु जहाँको तहिँ नै भए । र अब युवा नीतिको घोषणा भए पछि पनि पुराको प्रवृक्तीको निरन्तरता बाहेक केही नहुने भो ।

अझै पनि नेपालमा युवा को हुन् भन्ने विषयमा मतभेद दुविधा र भ्रम यथेष्ट छ । राष्ट्रिय युवा नीतिले १६ -४० उमेर समुहको कुरा गरेको छ भने अन्तरिम योजना र अब बन्न लागेको त्रिवर्षिय योजनाले अब संपुर्ण लगानीहरु १६ -२९ उमेर समुहका युवामा केन्द्रित हुने कुरा उल्लेख गरेको छ । हाम्रो जस्तो जातिय धार्मिक क्षेत्रिय विषमता रहेको मुलुकमा जुनसुकै पृष्ठभुमी वा समुदायको युवा भएपनि आधारभुत रुपमा नेपाली युवाका समस्या समान छन् र ति हुन् पहिचान प्रतिनिधित्व र पहुँच ।

कतिपय अवस्थामा युवाका मुद्धा युवा राजनैतिक दलका भातृसंगठनले उठाए कतिपय अवस्थामा दातृनिकायले उठाए र हामीले तिनै मुद्धाहरुलाई नै आफ्नै मुद्धा ठानेर भ्रमित भईरह्यौं । कहिले काहीँ राजनीतिक दलका कार्यक्रम र राजनीतिक आन्दोलनहरुमा सबैभन्दा अगाडी हामी नै उभियौं र कहिले काहीँ दातृ निकायले बजाएको बासुँरीमा बेताले नाच नाच्यौं र पछि विश्लेषण गर्यौं आगँन टेढो रहेछ ।

त्यसले आज सम्मका कार्यक्रमहरुले युवा शिक्षा युवा स्वास्थय युवा रोजगारका सवालहरुमा माखो पार्न पनि सकेका रहेनछन् भन्ने कुरा माथिको तथ्यांकले पुष्टि गरेको छ । आजसम्म किन युवाको समग्र विकासका लागी राज्यले एकिकृत कार्यक्रम ल्याएको छैन राज्यले ल्याएका सिमित कार्यक्रमहरुले अपेक्षा गरे जस्तो युवाका तमाम समस्याहरुलाई उचित सम्बोधन किन गर्न सकेन उत्तर सहज छ किनभने आजसम्म युवा को हुन् र उनिहरुको प्रधान समस्या के हो भन्ने बारेमा अस्पष्टता थियो र छ । युवा र युवाका मुद्धाहरुको सहि पहिचान भएन भने जस्तो सुकै कार्यक्रम ल्याए पनि त्यसले सही अर्थमा परिवर्तन ल्याउन सक्ने छैन ।

युवालाई कुन आधारमा परिभाषित गर्ने भन्ने पहिलो सवाल हो । हुनत जोश जांगर र सृजनशिलतालाई पनि कुनै आधार मान्न सकिएला तर त्यो भावनात्मक परिभाषा हो भावनाले रुमानी साहित्यको विकास गर्ला तर युवाको र देशको गर्न सक्दैन । त्यसको लागी नेपालको मौलिक सामाजिक सास्ंकृतिक र आर्थिक अवयवहरु र युवाको शहभागी अनि भुमिकालाई विश्लेषण गर्नु पर्ने हुन्छ ।

युवा भनेको किशोरवस्था माथिको सामाजिक आर्थिक सास्ंकृतिक जिम्मेवारी बोध गर्ने शुरुवात गर्दैको र शारिरिक रुपमा परिपक्वता हासिल गरेको अवस्था हो । अब नेपालको सन्र्दभमा कुन उमेर समुहलाई युवा मान्ने भन्ने महत्वपुर्ण प्रश्न हो । युवालाई सहि ढङ्गले पहिचान गर्न सकिएन र वैज्ञानिक अनि व्यवहारिक ढङ्गले परिभाषित गर्न सकिएन भने युवा हिजो र आज जस्तै भोली पनि राज्यको लागी समस्या मात्रै बनिरहने डर छ ।

नेपालको सन्र्दभमा युवाको उमेरको बारेमा छलफल गर्नु अघि केही अन्र्तराष्ट्रिय अभ्यासहरुलाई विश्लेषण गर्नु जरुरी हुन्छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई युवाको परिभाषा भित्र समेटर उनीहरुको प्राथमिकताका विषय समेत तोकेको छ । युवालाई उमेरको आधारमा हेर्ने हो भने भिन्न देशले भिन्न उमेरलाई युवा उमेर भनेर तोकेका छन् । फिलिपिन्स र बंगलादेशले १५ देखी ३० वर्षको उमेरलाई युवा मानेका छन् । जापानले २४ वर्ष सम्मकॊ लाई युवा मानेका छ । यसैगरि दक्षिण अपि्रुकाले १५ देखी २९ जर्मनीले १४ देखी २६ भारतले १५ देखी ३५ चिनले १४ देखी २८ सम्मको उमेर समुहलाई युवा समुह मानेका छन् ।

युवा उमेरलाई परिभाषित गर्नको लागी केही आधारहरुलाई हामीले ध्यान दिएर हेर्न जरुरी छ । वैवाहिक अवस्थालाई हेर्ने हो भने नेपालमा औसत विवाह गर्ने पुरुष उमेर करिब २४ र महिला करिब २० वर्ष रहेको पाइन्छ र पहिलो बच्चा जन्माउँदा आमाको उमेर १७ वर्ष हुने गरेको पाइन्छ । वैदेशिक रोजगारीमा जाने औसत युवाको उमेर भनेको १७ देखी २३ वर्ष सम्म छ । युवाका लागी लागु औषध दुव्र्यसन एच।आई।भी तथा एड्सको बारेमा चेतनसिल बनाउनु पर्ने उमेर भनेको १६ देखी २२ वर्ष हो । आधारभुत शिक्षा पुरा गर्नै युवा उमेर २४ वर्ष हो । दश वर्षिय सशस्त्र द्धन्द्धमा सकि्रय शहभागी हुनेको औसत उमेर १६ देखी २२ वर्ष । यि केही आधारहरुलाई मनन गर्नै हो भने पनि युवा उमेर २४ वर्ष बनाउनु उपयुक्त हुने देखिन्छ ।

औसतमा हेर्दा एक नेपाली युवाले ३० वर्षको उमेरमा आफ्नो पढाई सकेर कुनै रोजगारीको क्षेत्रमा लागेको अवस्था छ । यो केबल शैक्षिक आधारमा मात्र गरिएको समिक्षा हो । अझै पनि ठुलो प्रतिशत युवाहरु आर्थिक अवस्थाको कारण एस।एल।सी सम्मको अध्ययन गरेर आय आर्जनको बाटोमा लाग्न बाध्य छन् ।

राष्ट्रिय युवा नीतिमा आधारित भएर चालिस वर्ष सम्मको समुहलाई युवा भन्ने हो भने राज्यले धेरै लगानी गर्नु पर्ने अवस्था श्रृजना हुन सक्छ जुन अहिलेको अवस्थामा राज्यले धान्न सक्दैन । झट्ट हेर्दा पनि ४० वर्षको अधबैंशे उमेरको व्यक्तिलाई युवा सुहाउँदैन भने एउटै नीतिले १६ वर्षे ठिटो युवा र ४० अधवैशें व्यक्तिको समस्यालाई र दुई उमेर विचमा रहेका धेरै अन्तरद्धन्द्धहरुलाई कसरी सम्बोधन गर्न सक्छ भन्ने चुनौति पनि छ । फरक फरक समस्या फरक फरक मुद्धा र फरक फरक आवश्यकता भएको यि दुई उमेरलाई एउटै नीतिले समेट्न खोज्नु नै युवा नीतिको कमजोरी हो ।

सामान्य रुपमा हेर्दा हाम्रो समाजमा आमा र सन्तानको उमेर विच करीव २०-२२ वर्षको फरक हुन्छ भने एउटै नीति र कार्यक्रमलॆ ४० वर्षे आमा र १८ वर्षे सन्तानको मुद्धाको सुनुवाई गर्न सक्ला र ?
४० वर्ष सम्मको युवा समय राखेर यो नीतिले राजनीतिक नेतृत्वलाई प्रशस्त स्थान दिन खोजेता पनि विकास र राज्यका हरेक संयन्त्रमा युवा वर्गको सहभागीताको प्रयासलाई अझ अप्ठेरो बनाउनेछ । केही सिमित राजनैतिक युवाको स्थान सुरक्षित राख्न खोज्दा अवसरबाट बन्चित लाखौं युवाहरु वन्चित नै रहिरहनेछन् जसको ठाउँ पाका र अनुभवी व्यक्तिले ओगट्नेछन् । र यसो गर्नु लोकतन्त्र र समावेशीकरणको मर्मको विरुद्धमा हुन आउँछ ।

युवाको समस्या समाधान गर्ने कुरामा मात्र होइन उनिहरुको चौतर्फी विकास गराई जिम्मेवार बनाउँदै राज्यको समग्र विकासमा उनिहरुको सहभागिता खोज्ने हो भने युवाको उमेरको बारेमा निर्णय गर्दा एक चोटी फेरी गम्भिर भएर सोच्नै पर्छ । हाम्रो सामाजिक आर्थिक र सास्कृतिक संरचनाहरुको विश्लेषण गर्ने हो भने अहिलेको अवस्थामा १६ -२९ वर्षलाई नै युवा उमेर मान्नु उपयुक्त देखिन्छ जुन समुह कुल जनसंख्याको करिब ३० प्रतिशत छ । समय अनुसार परिमार्जन गर्दै जाने विकल्पलाई खुल्ला राखेर वर्तमान सन्र्दभमा राज्यका नीति र कार्यक्रमहरु यही समुह प्रति केन्द्रित हुनु पर्नै आवस्यकता छ ।
यदि त्यसो गर्न सकिएन भने युवा हिजो पनि गफ गर्ने विषय थियो आज पनि छ र भोली पनि गफै गर्ने विषय बन्नेछ । र यदि विदेश हिडेंका युवाहरुको लामो लस्कारलाई अहिले नै उचित व्यवस्था गरेर रोक्न सकिएन भने यो देशको एउटा पुस्ता नै देशबाट लोप हुनेछ । त्यो अवस्थामा हामी संग विगतमा गरिएको गलत नीति र कार्यक्रमको लागी पछुटाउने शिवाय अन्य विकल्प बाँकी रहने छैन ।


Responses

  1. this is a true issue regarding the problem of youth and country should bring young generation in sports; sceince n technology and in other related fields. Youth power should be guided by aged man wishdom. Then only country prosper.


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.