पि्य मित्र आशिष,
यो टिप्पणी लेखिरहँदा झिसमिसेको ३ बजेको छ । तर जब गत सोमबार चैत्र १६ गते कान्तिपुर दैनिकमा प्रकाशित लेख पढें केही नलेखी बस्नै सकिन ।
केही समय अघि नेपाली युवा र संचार क्षेत्रका बारेमा भएको छलफलमा मैले भनेको थिएँ – संचार क्षेत्रमा काम गर्ने अधिकांश संचारकर्मीहरु युवा नै छन् तर पनि संचार क्षेत्रको सबैभन्दा कम प्राथमिकतामा पनि युवा नै पर्छन् । युवाका समाचार भन्ने वित्तिकै ठमेलमा भएको डान्स पार्टी वा रत्नपार्कमा हुने ढुगाँ मुढाका खबर बाहेक नेपाली मिडिया कहिले माथी उक्लिन सकेन । यस्तो अवस्थामा तपाईंको विचार फाट्टफुट्ट पढ्न पाउँदा सानै रुपमा भएपनि नेपाली प्रेसले युवालाई स्थान दिने गरेका छन् जस्तो महशुस हुने गर्दथ्यो यधपी तपाईंको लेख र लेखका विषयहरुले काठमाडौं खाल्डोको चार घेरालाई अझै पार गर्न सकेका छैनन् भन्ने मेरो ठम्याई छ ।
संक्रमणकालिन यस अवस्थामा प्रत्येक दिन नेपाली नागरिकका मनमा अब के हुने भन्न चिन्ता आशंका र डरले घर बनाउँदै गएको छ । ठुलो संर्घष पछि भएका राजनैतिक परिवर्तनलाई संस्थागत गर्न सकिने हो कि होईन नयाँ संविधान तोकिएकै मितिमा बन्ने हो कि होईन संविधान बनिहाले पनि त्यो समावेशीे र सबै नेपाली नागरिकका आशा आकाक्षांलाई सम्बोधन गर्न सक्ने अग्रगामी हुने हो कि होईन लगायतका चिन्ता व्याप्त छन् । यो अवस्थामा नेपाली युवाले त्यस्ता चिन्ताहरुलाई चिर्न रचनात्मक भुमिका खेल्न सक्नुपर्ने हो । राजनैतिक व्यवस्थामा परिवर्तन भए पनि पात्र र प्रवृत्ति र काम गर्ने शैलिमा ठोस परिवर्तन आउन सकेको छैन जसकारण नेपाली नागरिकहरु यो अराजक अवस्था भन्दा पहिलेकै व्यवस्था ठिक भन्ने पनि थालिसके नेपाली युवाले यस्तो प्रवृत्तिहरु पुनरावृत्त नहुन भन्नका लागी ठोस दबाब दिनु पर्ने हो र कछुवा गति भन्दा धिमा गतिमा चलिरहेको संविधान निमार्ण प्रकृयामा आफ्नो सार्थक उपस्थिती नेपाली युवाले खोज्नुपर्ने हो र तपाईंका लेखमा अहिलेका यस्ता सबैभन्दा महत्वपुर्ण सवालहरु प्रतिबिम्बित हुनु पर्ने हो तर अफसोस कलेज बङ्क गरेर डिस्को गएका युवालाई रचनात्मक सल्लाहा सुझावको सट्टा यस्तो गैह्र अनुशाषित प्रवृत्तिकै समर्थनमा तपाईं उभिनु खेद जनक छ ।
घटना र समस्यालाई हेर्ने सवालमा चरित्रगत हिसाबले नेपाली युवामा तिन चरित्र हावी छ । पहिलो समस्याहरुबाट भाग्ने र जिम्मेवारीबाट पन्छिने जस्तो ठुलो संख्यामा नेपाली युवाहरु भन्ने गर्छन् यो देशमा भविश्य छैन त्यसैले विदेश जादैं छु । दोस्रो जस्तो समस्या भएपनि त्यसै अनुकुल बाँच्ने र तेस्रो समस्याहरुको समाधानका लागी लागीपर्ने । यधपी यो दुःखद पक्षको हो कि नेपाली युवाको जनसंख्यामा तेस्रो चरित्रको खडेरी परेको छ । त्यसैकारण प्रत्येक दिन ६५० भन्दा बढि नेपाली युवाहरु यो देशमा भविष्य नदेखेर सुखद भविष्यको खोजिमा देश बाहिर उडिरहेछन् । यो अनुपातमा नेपाली युवा विदेशीने हो भने भोली आँगन र चोक सफा गर्न पनि मित्र राष्ट्रबाट जनशक्ती आयात गर्नु पर्ने हुनसक्छ देश विकास र देशको समग्र रुपान्तरणका विषयहरु त परै छन् ।
सबैलाई थाहै छ हाम्रो शिक्षा प्रणालीमा गम्भिर पुनरावलोकन हुन जरुरी छ कलेजमा तमाम समस्याहरु छन् विधार्थीलाई सेवा र सुविधाहरु अपुग छन् कलेज जादाँ बाटैमा जाम भएर कलेज पुग्न ढिलो हुन सक्छ तर यि समस्याहरुको उचित समाधान खोज्ने हो भने कलेज र क्लास बङ्क गरेर सबेरै डिस्को धाउने र चुरोट र धुवाँको मुस्लोमा मग्न हुने होइन अभिभावक र कलेज प्रशाषनसंग सार्थक संवादको थालनी गर्नु पर्छ । तर आफ्नै राम्रो भविष्यको लागी आफ्नो व्यवस्थित श्ािक्षाको लागी सामान्य संवाद गर्न पनि आँट गर्न नसक्नेहरु कलेज बङ्क गरेर नाँच्न पाईएन भनेर गुनासो गर्नुको कुनै तुक छैन ।
तुलनात्मक रुपमा काठमाडौं खाल्डो भित्रका कलेज र विधालयहरु सुविधा सम्पन्न छन् श्रोत साधन कुशल शिक्षक शिक्षिकाको उपलब्धताका हिसाबले तर एकछिन सौचौं त राजधानी बाहिरका जिल्लाहरुका कलेजका अवस्था कस्तो होलान् राजधानी भित्रकै कलेजहरु सुविधा सम्पन्न छैनन् भन्दै डिस्को जान पाउनु पर्छ भनेर माग गर्ने हो भने प्रत्येक जिल्ला सदरमुकाम र नगरपालीकामा रहेका कलेज संग संगै डिस्को र डान्सबारको व्यवस्था गरिनुपर्छ ताकी विधार्थीहरुलाई अध्ययन गर्न मन नलागेमा कलेज बङ्क गरेर मनोरन्जन लिन सकुन् के आशिषजीहरुले यस्तै खोज्नुभएको हो ?
मनोरन्जन र रचनात्मक कृयाकलापमा शहभागी हुन पाउनु प्रत्येक युवाको अधिकार हो रचनात्मक कृयाकलापले युवाको समग्र विकासमा महत्वपुर्ण योगदान पुर्याउँछन् तर हामीले गर्ने त्यस्तो मनोरन्जनले समाजमा कतै अराजकता त निम्त्याईरहेको छैन भन्ने तर्फ पनि विचार पुर्याउनु पर्दछ । अझै सकिन्छ भने हामीले गर्ने मनोरन्जनात्मक कृयाकलापले समाजमा कुनै टेवा पुर्याउछ भने बरु त्यस्ता कृयालापमा बढि जोड दिनु पर्छ । केही युवाले आफ्नो जन्म दिनमा सडक बालबालिकालाई भोजन खुवाउने र बृक्षारोपण गर्ने जस्ता कृयाकलापको शुरुवात गरेका छन् के जन्म दिनको खुशियालीमा नाच्ने र उफि्रने भन्दा बाहेक यस्ता गतिविधी गर्न सकिन्न
अब अन्तमा यतिबेला देशले समृद्ध र नयाँ नेपाल निमार्णमा कटिबद्ध युवाहरुको सार्थक भुमिका खोजिरहेको छ कलेज बङ्करको जमातले आफ्नो मनोरन्जन त गर्ला तर हामीले आज गर्ने सहि कृयाकलापले भोली समग्र नेपाली नागरिकहरुको मनोरन्जन हुन सक्दछ । यदि नाँच्ने र गाउने नै हो भने आऔं संविधान सभा भवन अगाडी नाच रात रात भर नाचौं र अल्छि नेतृत्व गणलाई ब्यँझाएर समयमै संविधान निमार्णको लागी दबाब दिऔं । यस्तो नाचले सबैको मनोरन्जन हुन्छ ।
सार्थक भुमिकाका लागी म र म जस्तै जिवनका पच्चिस वसन्त नकाटेका केही युवाहरु जुटिसकेका छौं आशिषजी तपाईं पनि तयार हुनुहुन्छ भने आउनुहोस् हातमा हात मिलाऔं ।
Recent Comments