बस स्टपमा एकछिन उभिँदा
भेटिइन सक्छ
एक पुरानो मित्र
प्रजातन्त्रको दानापानीले सुन्निएको
वा प्रजातन्त्रको आनाकानीले अस्थिपन्जरमा झुण्डिएको
पुरानो मित्र
समयले खिया पारेको पुरानो दिनलाई सम्झेर/भुलेर
पुरानै अस्त्र फ्याक्न सक्छ -
के छ नयाँ हालचाल ?
संमरणको भकारीबाट बिस्थापित
पुर्वस्मृतिको पछुतोमय रङ्गको दोसल्ला ओढाइदिएर
ऊ ओझेल हुन सक्छ
फेरी कुनै दिन बस स्टपमा
भेटिइने/नभेटिइने संभावनालाई आलै राखेर
बस स्टपमा एकछिन उभिँदा भेटिइन सक्छन्
पैसा सापट लिएर भुमिगत भएको
वा सापट दिएको पैसा पछ्याईरहेका मित्रहरु
बस स्टपमा उभिँदा, एम्बुलेन्स शव वाहन र दमकलका साईरनसंग भेट हुन सक्छ
उमेर शरिर र आत्मविश्वास सुक्खा भएका माग्नेहरु
लालपुर्जा पासर्पाेटको कारोबारी जग्गा र श्रम दलालहरु
नगरपालिकाका फुस्रदिला सरसरसफाई कर्मचारी
सरकारी र नीजि स्वास्थय गृहमा उस्तै झुल्किने व्यस्त डाक्टरी
सधैं जिर्ण सडकका मर्मतकारी
न्याय र अन्यायका कारोबारी कालोकोटधारी
टोलका दादागिरी
जागिरे ट्राफिक पुलिस
र नयाँ पुराना अनुहार बोकेका मानिसहरु
भेटिइन सक्छन् बस स्टपमा एकछिन उभिँदा
बस स्टपमा एक छिन उभिँदा
जिल्लाको पुर्व/नयाँ सांसद
उच्च कर्मचारी
खानदानी व्यापारी
बिकासे दाता
सडक विभागको खाल्डोमा जमेको
पानीको पिच्कारी
ज्यानभरी चोख्याएर
कुदाउन सक्छन् रङ्गरङ्गका पाजिरो
भेटिइन सक्छन्,
हात्ति छाप चप्पलमा सवार
इमान्दारिताको दाग लागेको पुर्व नेता
नैतिकताले पुर्पुरो डामेको पुर्व लेखक
सदाचारिताले नाङ्गिएको सर्वहारा कर्मचारी
अपेक्षित अनपेक्षित टाउकोधारीहरु
यतिबेला बस स्टपमा उभिरहेछु
कुरिरहेछु २०६८ नम्बरको “राज्य यातायात”
तर राज्य नाम गरेको बसस्टपमा
अहिलेसम्म पुगेन “राज्य यातायात”
ऊ त्यो परको मोडमा
पन्चट भएको ६०१”नम्बरको ठेलागाडा ठेल्दै गरिरहेको
के त्यो राज्य हो ?
-ब्रबिमकुमार
२०६८ साउन १६ गते
लेले ललितपुर
Recent Comments