Posted by: truelines | February 23, 2012
बोक्सीको आरोपमा
रु. दश खरब ज्यादा मुल्यको ज्यानमा
जब दश परिचय ओझेल पारेर
बोक्सीको बात लाग्छ
मान्छेको जिन्दगी -
रु. १० रुपियावाला पत्रिकाको समाचार बनेर सकिन्छ
“बोक्सीको आरोपमा एक महिलाको हत्या”
यो विरहरुको इतिहासमा झुण्डेको देशमा
कति स्वतन्त्रता दिवशहरु बोकेर आउँछ क्यालेण्डर!
तैपनि,
बोक्सी आरोपको समाचार
छातीमा झुण्ड्याएर
कहिलेसम्म आत्महत्या गरिरहन्छ
यो देशको संविधान ?
जब दलित – एकल महिला
बे-घर वृद्धा
माग्ने बुढीहरुका पुर्परोमा
बोक्सीको टाँचा टासिदिन्छन्
स्कुले मास्टर,
मुखियाको िहंग बाँधेको समाजसेवी,
जग्गा व्यापारीमा रुपान्तरित
पुर्व अध्यक्षहरु
“गु” खुवाएर पवित्र हुन्छ
यो समाज
अनि पत्रिकामा नयाँ समाचार खुब बिक्छ
“बोक्सीको आरोपमा महिलालाई गु खुवाईयो”
यसैगरि पाखण्डी यात्रामा यात्रामा यात्रारत छ
विरहरुको देश
के मतलव यो देशमा कति झण्डा उठे
कति झण्डा झुके ।
किन बोक्सीको
कुरुप रंग रिगंदैन
हेडमास्टर बडा हाकिम नेताजी न्यायधिश र साहुजीका
श्रीमति छोरी र बुहारीका
मेकअप गरेको अनुहारमा ?
म पढ्दिन भोलिदेखी
बोक्सीका आरोपका समाचार
त्यसको लागी मैले
कुन फागुन १ – फागुन ७ -
र जेष्ठ १४ कुर्नुपर्ने हो ?
फागुन ६ २०६२
Like this:
Be the first to like this post.
Very nice!
By: Durga Lamichhane on March 14, 2012
at 11:28 am