रंग उडेका सपनाहरु र खिया लागेका रहरहरु संगालेर सताब्दियौं देखी
कुनै एतिहासिक मन्दिरको मुर्ति जस्तै
जहीँको तहीँ छ मेरो गाउँ
पुस्तै पिच्छे फेरिएका मानिसहरु मानिसका सपनाहरु
अनि फेरिएका व्यवहारहरु विच
उहि खोला उहि धुलो र उहि दुःख संगै
बाचिँरहेछ मेरो गाउँ ।
मेरो गाउँका युवाहरु भ्याएसम्म अमेरिकी डि।भी भर्छन्
क्यानडा युरोप र अस्टे्रलियाको भिषा अप्लाई गर्छन्
त्यसो गर्न नसक्नेहरु अरब ताक्छन्
अनि त्यसो पनि गर्न नसक्नेहरु
दिनभरी गाउँको चौतारामा तास खेल्छन्
साँझपख नजिककैको चिया पसलमा
तिघ्रा पट्काएर भन्छन् ू यो गाउँमा बसेर केही हुन्नू
जस्तो म दिनभरी शहरको चोक र गल्लि नाप्छु
अनि साँझपख गाउँ फर्केर खुट्टा पसा्रछु ।
यदि मेरो गाउँ नहुदों हो त यो विश्व भुमण्डलमा
मेरो खुट्टा पसार्ने ठाउँ हुने थिएन ।
म प्रत्येक दिन मेरो गाउँको धुलो दुःख गोबर
अनि रहर पोल्टा भरि बोकेर शहर पस्छु
तर शहरमा त्यो कहिल्यै बिक्दैन
शहरमा गाउँको पसिना कवाडीको भाउमा विक्छ
जुन वेचेर मेरा कैयौं पुस्ताले आफ्नो जिवन रित्याए ।
शहरमा गाउँका मानिसको भोट विक्छ
जुन वेचेर धेरै नेताको राजनीति चल्छ
शहरमा गाउँको गरिबी विक्छ
जुन वेचेर धेरै प्रोजेक्ट चल्छ
त्यसको बदलामा गाउँले एउटा अंग्रेजी भाषाको रिर्पाेट पाउँछ
जहाँ लेखिएको हुन्छ ू एकादेशमा गाउँमा गरिबी थियो जुन वेचेर गाउँले एउटा रंगिन रिर्पोट पाएको छ । ू
गाउँलाई सबैको इतिहास थाहा छ
कुनैदिन गाउँमा काँक्रो चोर्नेहरु
गाउँको बनमा डढेंलो लगाउनेहरु
अनि गाउँमा चप्पल घिसार्नेहरु
आज हाकीम पलिस आर्मी व्यापारी नेता
र कोही विदेशी भएका छन्
ज्ासले गाउँ फर्कने बाटो विराएका छन्
गाउँले शहर छिर्ने बाटो जान्दैन ।
मेरो गाउँमा मलाई चिन्नेहरु
मेरो डाहा गर्नेहरु
मेरो कुरा काट्नेहरु
मलाई माया गर्नेहरु
सबै बस्छन्
र मेरो आधा मन बस्छ
मेरो आधा मन शहर तिर डेरा गर्दछ ।
यो गाउँमा किन किन आज मेरो मन अट्दैन
शहरको हावा खाएर मलाई गाउँ गनाउन थालेको छ
हो गाउँमा मेरो इतिहास छ
तर गाउँमा म आफ्नै भव्ािष्य देख्दिन ।
मेरो गाउँ
पैताला भरि तिम्रो माटो बोकेर
आज शहर पस्दैछु
शहरको भिडमा आफैलाई हराएँ भने
आफुलाई खोज्न कुनैदिन गाउँतिर फर्कुलाँ है ।
2066/1/11
April,24,2009