Posted by: truelines | December 10, 2012

सोह्र सय जोर पाईला

एक दिनमा

केबल एक दिनमा
एक, दुई, तिन …हुदैं सोह्र सय घरबाट
निधारमा रातो टिका थापेर
लम्कन्छन् पाईलाहरु
अन्र्तराष्ट्रिय विमानस्थलतर्फ
बाटोमा भेट्टिने साथीसंगीलाई
हात हल्लाउँदै
टाटा बाई बाई
भेटौंला फेसबुकमा ।

उड्छ जहाज
मार्दै काड्मान्डौं खाल्डोलाई एक फन्को
उत्रन्छ पृथ्विको कुनै कुनोमा
नेपालबाट हिडेंको पाईला
निधारमा रातो छाप
ट्रान्जिटको अनिंदो बोकेर
ओर्लन्छ, दुबई, दोहा, टेक्सास, न्युर्याेक, वासिङ्गटन
लण्डन, फ्र्याङ्गफट, टोरन्टो, मेलर्वन
ओस्लो, बुढापेष्ट
कहिलेकाहीँ अफ्रिकाको जुबा सम्म नि

लेख्छ चिठी बा आमालाई
दाजुभाईलाई/साथीलाई
र, लुकाएर पठाउँछ चिठी प्रियसीलाई
जसमा लेखिएको हुन्छ
‘पठाएको छु पैसा रेमिट्न्यासबाट
किन्नु मन परेको रातो साडी
र जाडो कटाउने न्यानो चोलो
तिर्नु तिर्नु फिस छोरा छोरीको बोर्डिङ्गको
किनिदिनु उनिहरुलाई जाडो कट्ने एकजोर ट्याकसुट’

अथवा, पठाउँछ ईमेल
देखाउँछ स्काईपमा हँसिलो अनुहार
र, भन्छ ‘नगर्नु पिर
आफ्नो ख्याल गर्नु ।’

लेख्छ फेसबुकमा मित्रलाई
आउँदा ल्याउनेछु
रेड लेबल, ब्ल्याक लेबल
अनि नयाँ ब्राण्डको वाईन ।

हरेक विहान
सम्झन्छ आफ्नो आँगन
टप्काएर केही थोपा आँशु
हाजिर हुन्छ अड्डामा
रित्याएर दिनभरी एक गाग्रो पसिना
फर्कन्छ कोठा
अनि गर्छ हिसाब
कति पैसा जोडियो आज ।

यसैगरि हर दिन
बेच्छ आफुलाई
छोरा छोरीको स्कुल फिको लागी
बाबु आमाको ओखतीको लागी
प्रियसीको रातो साडीको लागी
बेच्छ आफुलाई नयाँ टि.भीको लागी
नयाँ घडेरी
नयाँ गाडी
नयाँ बंगला
सुखद भविष्य
र यस्तै यस्तै नयाँ चिजको लागी ।

एकदिन फर्कन्छ घर
रित्याएर सारा जवानी
र पाउँछ सबै नयाँ
नयाँ घर, नयाँ फर्निचर
केबल ऊ पुरानो भएछ ।

यस्तै एकदिन अकस्मात्
चढेपछि यमलोकको दरबार
मिस गर्छन् परिवार साथीभाईले
नयाँ साडी, नयाँ गाडी
र चल्तिको ब्राण्डको वाईन
सायद भोलिपल्टको
नयाँ अखबारमा छापिन्छ समवेदना
उसैले कमाएको पैसाले
र पर्सिपल्ट पुरानो हुन्छ उसको याद पनि ।

उस्तै गरि आज नि
एक दुई तिन चार गर्र्दै ….. सोह्र सय घरबाट
लाएर निधारमा रातो टिका
लम्के पाईलाहरु अन्र्तराष्ट्रिय विमानस्थलतर्फ

यति भन्छु मित्र,
त्यही सोह्र सय पाईलाहरु मध्ये
एक जोर पाईला तपाईं हाम्रो पनि हो ।

(साउथ सुडानको राजधानी जुबामा नेपाली जमघटको बेला वाचित कविता । डिसेम्बर ९, २०१२)


Responses

  1. 95/100


Leave a comment

Categories