Posted by: truelines | October 5, 2013

एक बाकस दशैं

Image Source - http://perezhilton.com/

Image Source – http://perezhilton.com/

एक बाकस दशैं

छोड्नु अघि संसारकै ठुलो
उसको बाटुलो आँगन
हेर्यो उसले एक पटक पुर्वतिरको लामो पहाड
घाम टेकेर पहाड लागिसकेछ आफ्नै बाटो
भोली साँझ उडेपछि पहाडमाथीबाट
पर्सिदेखी देखाउँदै त्यही पहाड
गाउनेछन् छोरा छोरीले
“हाम्रो बा दशैंमा आउनेछन्
जिनको पाईन्ट र टिभी ल्याउनेछन्“
छोएर बुढो पिपलको रुख झैं आमाको पाउ
जाँदा जाँदै हेर्यो उसले अर्धागिंनीलाई
पिढिंको थाममा गाला टाँसेर हेरिरहेकी
सकेन अँगालेर चुम्न
भर्खरै झरेको फुलझैं उसको अनुहारमा
“राम्रो सँग बसे, आमा र बच्चाको हेर विचार गरे
आफ्नो ख्याल राखे”
यति शब्द पिढिंको दलिनमा घुसारिदियो
अनि हिड्यो ।

जाँदाजाँदै उसले बाटैमा भेट्यौ
स्कुलबाट बाउलाई बिदाई गर्न
हतार हतार फर्किदैं गरेका छोराछोरी
टाढैबाट उसले हल्लायो हात र भन्यो
पढ्नु राम्ररी, नपिराउनु है आमालाई !

माउ हिडें पछि पछ्याउँदै कुदेका चल्लाहरुझैं
अलि पर सम्म पछ्याए छोरा छोरीले
सयको नोट दिएर भन्यौ
“घर जाओ अब“
टक्क अड्डिए बच्चाहरु
हेरिरहे आफ्नो माउले छोड्दै हिंडेको बाटो !

दोबाटो छेउको लाखुरेको रुख
उभिएको थियो उसैलाई विदाई गर्न
हेरिरहेका थिए बारी र कान्लाहरु
चाईनिज झिन्चुंग मोबाईलबाट
उसले खिच्यो फोटो
उसलाई बिदाई गरिरहेको गाउँको ।

यसरी हिंडेको थियो ऊ
५४० दिन अघि पहाडहरुले छोपेको देशमा
अभागी नामको जिन्दगीमा भाग्य फुलाउन !

ठिक ५४० दिन पछि
सोह्र श्राद्धको एक साँझ
ऊ फर्कियो कहिल्यै नर्फकिने गरि
आफ्नो अभागी जिन्दगीलाई
बाकसमा बन्द गरेर

गाउँ दशैंको कमेरोमा डुबिरहेको बेला
ऊ, एउटा बाकस मस्त पल्टिएको थियो
संसारकै ठुलो उसको आफ्नै बाटुलो आँगनमा

र भनिरहेको थियो आफ्नी अर्धागिंनीलाई
“राम्रो सँग बसे, आमा र बच्चाको हेर विचार गरे
आफ्नो ख्याल राखे”

भनिरहेको थियो बच्चाहरुलाई
पढ्नु राम्ररी, नपिराउनु है आमालाई !

जिन्दगीको हजार दुःख खेपेर
आखिर ऊ फर्कियो आफ्नै आँगनमा ।

यो देशमा, यसैगरि करिब हजार घरले
यसपालीको बाकसे दशैं मनाउनेछन !


Leave a comment

Categories